काठमाडौँ । नेपाली कांग्रेसले आयोजना गर्न लागेको विशेष महाधिवेशनलाई लक्षित गर्दै प्रतिनिधिहरूका लागि राजधानीमा व्यापक आवास व्यवस्थापन गरिएको छ। महाधिवेशन आयोजक समितिअन्तर्गतको आवास तथा भोजन उपसमितिले काठमाडौंका विभिन्न क्षेत्रका होटलहरूमा १ हजार ५ सय कोठा आरक्षित गरेको जनाएको छ।
आवास तथा भोजन उपसमितिका संयोजक रमेश धमलाका अनुसार विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूलाई बसोबासमा कुनै असुविधा नहोस् भन्ने उद्देश्यले एयरपोर्ट क्षेत्रदेखि सुन्धारा, ठमेल र नक्साल आसपासका होटलहरू चयन गरिएको हो।
“हरेक निर्वाचन क्षेत्रका प्रतिनिधिहरूलाई सहज रूपमा बस्न मिल्ने गरी फोकल पर्सन तोकिएको छ,” धमलाले बताए, “यसले प्रतिनिधिहरूलाई होटल खोज्नुपर्ने झन्झट हटाउनेछ।”
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आयोजना हुँदैछ। पार्टी नेतृत्वका अनुसार महाधिवेशनलाई व्यवस्थित र मर्यादित बनाउन आवासदेखि व्यवस्थापनसम्मका तयारीहरू तीव्र गतिमा अघि बढाइएको छ।