विराटनगर । छठ पर्वको अवसर पारेर मोरङको कटहरी गाउँपालिका–१ जमटोकीमा छठ व्रतालु महिलालाई साडी वितरण गरिएको छ। श्री हरि सत्संग समिति नेपालको आयोजनामा आयोजित कार्यक्रममा ९० जना व्रतालुलाई साडी वितरण गरिएको हो।
धार्मिक आस्था र सामाजिक सेवाको भावनालाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रममा समाजसेवी एवं धार्मिक व्यक्तित्व डा. शिवशंकर साहले साडी उपलब्ध गराएका थिए। मोरङको ग्रामथान गाउँपालिका–५ निवासी साहले छठ पर्वको पवित्र अवसरमा व्रतालु महिलालाई सहयोगस्वरूप साडी प्रदान गरेका हुन्।
कार्यक्रममा श्री हरि सत्संग समिति नेपालका अध्यक्ष भिखम चन्द सरल, ग्राम संगठन अध्यक्ष विद्यनन्द माझी, नगर संगठन अध्यक्ष धनश्याम कावरा, सम्भाग अध्यक्ष महेश स्वर्णकारलगायत विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो।
छठ पर्वमा व्रतालु महिलाले शुद्धता, निष्ठा र श्रद्धाका साथ कठोर व्रत बस्ने परम्परा छ। यस्तो धार्मिक अवसरमा व्रतालुलाई आवश्यक सामग्री सहयोग गर्नुले पर्वको महत्त्वसँगै सामाजिक सद्भाव, आपसी सहयोग र सेवाभावलाई समेत बलियो बनाउने विश्वास गरिएको छ।