विराटनगर । सुनसरीको हरिनगरमा छठ पर्वको पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। धार्मिक आस्थासँग जोडिएको पूजास्थलमा तोडफोड गरी सामाजिक तथा धार्मिक सद्भाव बिथोल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ का १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कात्तिक २९ गते आइतबार साँझ करिब ७ः३० बजे हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा छठ पूजास्थल तोडफोड भएको थियो।
साँझको अर्घ्य दिएर व्रतालु तथा श्रद्धालुहरू घर फर्किएपछि घाटमा तोडफोड भएको प्रहरीको भनाइ छ। घटनामा संलग्न रहेको आरोपमा दुवै युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
धार्मिक पर्वका लागि तयार पारिएको पूजास्थलमा भएको तोडफोडको घटनालाई प्रहरीले गम्भीर रूपमा लिँदै थप अनुसन्धान गरिरहेको छ।