जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले हालको नागरिक सरकार देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा गठन भएको र यसको प्रमुख जिम्मेवारी देशमा सुशासन कायम राख्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्।
मधेश प्रदेश सरकार, गृह मन्त्रालय र प्रदेशकै गृह, सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा बुधबार यहाँ आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी को उद्घाटन मन्तव्यमा उनले यो कुरा उल्लेख गरे।
गृहमन्त्री अर्यालले भने, “यो नागरिक सरकार भएकाले पनि नागरिक र युवापुस्ताको जनभावना अनुरूप सहकार्य र समन्वयमा अघि बढिरहेको छ। त्यसैले सरकार निष्ठा र इमानदारिताबाट किञ्चित पछि हट्दैन।”
गोष्ठीमा विशेष अतिथिको रूपमा बोल्दै प्रदेशमुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशको समग्र सुरक्षा अवस्था र आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तय गर्न गोष्ठी उपयोगी हुने विश्वास व्यक्त गरे। उनले तराईका केही क्षेत्रमा देखा परेका धार्मिक–सांस्कृतिक तनाव, जेन–जी आन्दोलनपछि भएका क्षति, लुटिएका हतियार र फरार कैदी–बन्दी लगायतका सुरक्षा चुनौतीलाई सम्बोधन गर्न साझा धारणा बनाउनु आवश्यक रहेको बताए।
मधेश प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री फकिर महतोले प्रदेश प्रहरी ऐनको आवश्यकता औँल्याउँदै, प्रदेश प्रहरी समायोजन नहुँदा सुरक्षा चुनौती बढिरहेको र जिल्ला प्रहरी, प्रदेश प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय आवश्यक रहेको बताए।
गोष्ठीले सुरक्षा क्षेत्रमा देखिएका समस्याको पहिचान र समाधानका उपायहरूमा सार्वजनिक छलफल र सहमति जुटाउने कार्यमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।