विराटनगर। विराटनगर महानगरपालिका–१४ को जतुवा क्षेत्रमा सडक किनारमा लुकाएर राखिएका अवैध सामान प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बुधबार बिहान करिब साढे ६ बजे ती सामान फेला पारेको हो।
प्रहरी निरीक्षक कबिन राईको नेतृत्वमा खटिएको १३ सदस्यीय टोलीले सडकछेउ परालको कुन्यूभित्र शङ्कास्पद रूपमा लुकाइएका सामान बरामद गरेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार ती सामानहरू भन्सार छलि भारतबाट ल्याइएर तस्करी प्रयोजनका लागि वेवारिसे अवस्थामा राखिएका थिए।
बरामद सामग्रीमा १२ कार्टुनमा प्याक गरिएका २८८ बट्टा रसगुल्ला, ८५ केजी चिनी तथा ग्यास चुलोमा प्रयोग हुने विभिन्न पार्टपुर्जा रहेका छन्। प्रहरीले रसगुल्लाको मूल्य ९२ हजार १६० रुपैयाँ, चिनीको ५ हजार १०० रुपैयाँ र ग्यास चुलोका पार्टपुर्जाको ३७ हजार २०० रुपैयाँ आँकलन गरेको छ। कुल मूल्य एक लाख ३४ हजार ७६० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै सामानहरू आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा ल्याइएको छ। ती सामग्रीहरू आजै भन्सार कार्यालय रानीमा बुझाइने तयारी भइरहेको प्रहरीको भनाइ छ।