इरानमा प्रदर्शनका क्रममा ‘हजारौँ’ को मृत्यु भएको खामेनीद्वारा स्वीकार

0 Shares

काठमाण्डौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले हालै देशव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनका क्रममा हजारौँ नागरिकको ज्यान गएको पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गरेका छन्। कडा दमनका कारण अन्तर्राष्ट्रिय आलोचनाको सामना गरिरहेको इरानी नेतृत्वका लागि यो स्वीकारोक्ति असामान्य मानिएको छ।

शनिबार टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै खामेनीले गत डिसेम्बरको अन्त्यतिर आर्थिक सङ्कट, महँगी र बढ्दो राजनीतिक असन्तोषका कारण सुरु भएका प्रदर्शन हिंसात्मक बनेको र त्यस क्रममा “केही हजार” मानिसको मृत्यु भएको बताएका हुन्।

खामेनीले केही नागरिकको मृत्यु “अमानवीय र निर्दयी परिस्थितिका कारण” भएको स्वीकार गरे पनि यसको जिम्मेवारी इरानी सुरक्षा निकायमाथि नलगाई अमेरिका र अन्य विदेशी शक्तितर्फ औँला ठड्याएका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनलाई उक्साएको आरोप लगाउँदै उनलाई “अपराधी” को संज्ञा दिए।

उनका अनुसार सुरुमा आर्थिक मागबाट उठेको आन्दोलन पछि सरकारविरोधी दिशातर्फ मोडिएको थियो। खामेनीले प्रदर्शनकारीहरू विदेशी शक्तिद्वारा प्रयोग गरिएको दाबी गर्दै दोषीमाथि कुनै पनि हालतमा कारबाही हुने चेतावनीसमेत दिएका छन्।

यसबीच, अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले भने प्रदर्शन र सुरक्षा बलबीचको झडपमा ३ हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरेका छन्। पटक–पटक इन्टरनेट सेवा अवरुद्ध गरिएकाले वास्तविक तथ्याङ्क बाहिर आउन कठिन भएको जनाइएको छ।

खामेनीको अभिव्यक्तिपछि अमेरिकी राष्ट्रपति ट्रम्पले कडा प्रतिक्रिया जनाएका छन्। पोलिटिकोसँगको अन्तर्वार्तामा ट्रम्पले इरानमा “नयाँ नेतृत्व आवश्यक भएको” टिप्पणी गर्दै खामेनीलाई व्यापक हिंसाका लागि जिम्मेवार ठहर गरेका छन्।

“एक देशको नेताका रूपमा उनले आफ्नो राष्ट्रलाई विनाशतर्फ धकेलेका छन्,” ट्रम्पले भने, “नेतृत्व डर र मृत्युमा होइन, सम्मानमा आधारित हुनुपर्छ।” उनले कमजोर नेतृत्वकै कारण इरान विश्वकै सबैभन्दा कठिन बसोबासयोग्य देशमध्ये परेको दाबीसमेत गरे।

यसै क्रममा खामेनीले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत पनि अमेरिका विरुद्ध आक्रामक टिप्पणी गर्दै हालको आन्दोलन अमेरिकी योजनाअनुसार भएको आरोप दोहो¥याएका छन्। “अमेरिकाको लक्ष्य इरानलाई नियन्त्रणमा लिनु हो,” उनले लेखेका छन्।

यद्यपि, केही साताको तनाव र सुरक्षा कारबाहीपछि तेहरानसहित प्रमुख सहरहरूमा जनजीवन क्रमशः सामान्य बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्बन्धित समाचारसबै