भारतबाट निर्वाचन सहयोग: नेपाललाई पहिलो चरणमा ६१ सवारी साधन हस्तान्तरण

0 Shares

काठमाडौँ । आगामी निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाललाई ६१ वटा सवारी साधन हस्तान्तरण गरेको छ। गृह मन्त्रालयमा मंगलबार अपराह्न आयोजित कार्यक्रममा भारतीय राजदूतावासले ती गाडीहरू गृहमन्त्रालयलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पहिलो चरणमा ६१ वटा गाडी नेपाल भित्रिएको जानकारी दिँदै बाँकी सवारी साधन पनि क्रमशः आउने बताए। भारत सरकारले निर्वाचन प्रयोजनका लागि कुल ३८८ वटा गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन अघि नै सबै गाडी उपलब्ध गराउने प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै आज ६१ वटा गाडी मन्त्रालयले प्राप्त गरेको बताए। उनले निर्वाचन व्यवस्थापन र सुरक्षालाई सुदृढ बनाउन भारत सरकारको सहयोग महत्वपूर्ण हुने भन्दै धन्यवाद व्यक्त गरे।

गृहमन्त्रीका अनुसार प्राप्त सवारी साधनले निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र प्रभावकारी बनाउन उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै