विद्या र सिर्जनाको आराधनासहित आज श्रीपञ्चमी

0 Shares

काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा–आराधना गर्दै श्रद्धापूर्वक मनाइँदै छ। वसन्त ऋतुको आगमन र ज्ञानको उज्यालो प्रारम्भको प्रतीक मानिने यो दिनलाई वसन्त पञ्चमीका रूपमा पनि चिनिन्छ।

चन्द्रमाजस्तै उज्यालो वर्ण, हातमा वीणा र पुस्तक धारण गरेकी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, वागीश्वरी, जगन्माता, बुद्धिदात्री, वरदायिनी, ब्रह्मचारिणी र भुवनेश्वरीजस्ता अनेक नामले स्मरण गर्दै पूजा गर्छन्। वैदिक ग्रन्थहरूमा वाग्देवीका रूपमा वर्णित सरस्वतीलाई ज्ञान, वाणी र सिर्जनाको मूल स्रोत मानिन्छ।

विद्या र कलाकी देवी भएकाले आजको दिन विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार र पत्रकारहरूले आफ्ना अध्ययन–साधन तथा सिर्जनाका सामग्री—कलम, कापी, पुस्तक, कुची र वाद्ययन्त्र—लाई सरस्वतीकै स्वरूप मानी पूजा गर्ने चलन छ। तान्त्रिक परम्परामा भने सरस्वतीलाई तारादेवीका रूपमा तन्त्रसाधनासँग जोडेर हेर्ने गरिन्छ।

सूर्य उत्तरायणतर्फ लागी दिन लामो हुन थाल्ने विश्वासका साथ आजको दिन वसन्त ऋतुको शुभारम्भ मानिन्छ। धार्मिक मान्यताअनुसार आज सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने विश्वास छ, जसका कारण यो पर्वलाई विशेष महत्वका साथ मनाइन्छ।

श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, बेलविवाह, गुफा राख्ने जस्ता सामाजिक तथा धार्मिक कर्मका लागि साइत हेर्नु नपर्ने मान्यता रहिआएको छ। यद्यपि यस वर्ष शुक्र अस्त भएकाले विवाह र व्रतबन्धजस्ता कर्म भने गरिँदैनन्। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने तथा नाक–कान छेड्ने परम्परा भने यथावत् छ।

आज बिहानैदेखि स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत उपत्यका तथा देशका विभिन्न सरस्वती मन्दिरहरूमा भक्तजन, विशेषगरी विद्यार्थीहरूको उल्लेख्य भिड लागेको छ।

धार्मिक विश्वासअनुसार सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धिको स्फुरण हुने तथा चेतनाको ज्योति प्राप्त हुने मान्यता छ। यही अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण कार्यक्रम आयोजना गरिन्छ। राजतन्त्रकालमा राजाको उपस्थिति रहने यो परम्परा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षको उपस्थितिमा हुँदै आएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान १० बजेर १७ मिनेटमा हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिएका छन्। (रासस)

सम्बन्धित समाचारसबै