काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा प्रवेश गरेको छ । निर्वाचन आयोगले आज (शुक्रबार) उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दैछ, जससँगै चुनावी प्रचारप्रसार औपचारिक रूपमा सुरु हुने छ । मतदानको दिन नजिकिँदै गर्दा अब निर्वाचनमा केवल ४१ दिन मात्र बाँकी छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने अवसर दिइएको छ । उम्मेदवारी फिर्ताको समय समाप्त भएपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
आयोगका अनुसार अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ । चिह्न प्राप्त गरेसँगै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार दुवैले मतदाता केन्द्रित प्रचार अभियानलाई तीव्र बनाउने छन् ।
यसअघि पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत माघ ७ गते दाबी–विरोध दर्ताको समय तोकिएको थियो । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता गर्ने समय निर्धारण गरिएको थियो भने मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी बिहीबार बेलुका ५ बजेसम्म निर्णय गर्दै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिएको थियो ।
निर्वाचन आयोगका अनुसार देशभरका १ सय ६५ निर्वाचन क्षेत्रका लागि कुल ३ हजार ४ सय ८६ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा १ जना अन्य समूहका उम्मेदवार रहेका छन् । माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता प्रक्रिया सम्पन्न भएको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन एकै चरणमा देशभर सञ्चालन हुने छ । संविधानअनुसार कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामध्ये १ सय ६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ ।