धागो आयात विवादले बङ्गलादेशको टेक्सटाइल उद्योग सङ्कटमा

0 Shares

काठमाण्डौ । बङ्गलादेशको टेक्सटाइल उद्योग आर्थिक दबाबको चपेटामा पर्दै जाँदा देशभरका स्पिनिङ मिलहरू बन्द हुने खतरा बढ्दै गएको छ। मिल सञ्चालकहरूले आयातीत धागोमा दिइँदै आएको भन्सार छुट तत्काल हटाउन सरकारसँग माग गर्दै समयमै निर्णय नआए फेब्रुअरी १ देखि उत्पादन ठप्प पार्ने चेतावनी दिएका छन्।

बङ्गलादेश टेक्सटाइल मिल्स एसोसिएसन (बीटीएमए) का अनुसार भारतबाट ठूलो परिमाणमा सस्तो धागो आयात भइरहेकाले स्वदेशी उत्पादन बजारमै बिक्री हुन नसकेको अवस्था छ। यसले समान प्रतिस्पर्धाको आधार भत्काएको उद्योगीहरूको दाबी छ।

उद्योग बन्द भएमा करिब १० लाख श्रमिकको रोजगारी जोखिममा पर्ने बीटीएमएको चेतावनी छ। यसले केवल आर्थिक होइन, सामाजिक अस्थिरता पनि निम्त्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ। यद्यपि सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) वा अन्य राहत प्याकेजबारे हालसम्म कुनै ठोस निर्णय सार्वजनिक गरेको छैन।

पछिल्ला केही महिनामा ग्यास अभाव, अनियमित आपूर्ति र ऊर्जाको महँगो मूल्यले टेक्सटाइल उद्योग थप दबाबमा परेको छ। बीटीएमएका अनुसार बजारमा करिब १५ अर्ब बराबरको स्वदेशी धागो बिक्री नभई गोदाममै थन्किएको छ। यसै कारण अहिलेसम्म ५० भन्दा बढी टेक्सटाइल मिल बन्द भइसकेका छन् भने हजारौँ मजदुर बेरोजगार भएका छन्। धेरै उद्योगीहरू बैंक ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन्।

सरकारी तथ्याङ्कले सन् २०२५ मा बङ्गलादेशले करिब २ हजार करोड अमेरिकी डलर बराबरको ७० करोड किलोग्राम धागो आयात गरेको देखाउँछ, जसको झन्डै ७८ प्रतिशत भारतबाट आएको छ।

स्पिनिङ मिल सञ्चालकहरूले १० देखि ३० काउन्टका सुती धागोमा दिइँदै आएको भन्सार छुट खारेज गर्नुपर्ने, सस्तो तथा नियमित ग्यास आपूर्ति सुनिश्चित गर्नुपर्ने, संकटकालमा भ्याट छुट दिनुपर्ने र बैंक ऋणको ब्याजदर घटाउनुपर्ने माग अघि सारेका छन्।

तर अर्कोतर्फ गार्मेन्ट उत्पादक तथा आयातकर्ताहरू भने भारतीय धागो गुणस्तरीय र नियमित आपूर्तिमा भरपर्दो रहेको तर्क गर्छन्। उनीहरूका अनुसार भन्सार छुट हटाइएमा उत्पादन लागत बढ्नेछ र विश्व बजारमा बङ्गलादेशको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुन सक्छ।

सम्बन्धित समाचारसबै