विराटनगर । जेन–जी अभियन्ता तनुजा पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ–२ बाट उठाएका उम्मेदवार कृष्णकुमार कार्कीको विषयमा तीव्र असन्तोष व्यक्त गरेकी छन्। नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा आगजनी प्रयासमा संलग्न व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै उनले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी हुन्।
पाण्डेले कार्कीको तस्वीर सार्वजनिक गर्दै रास्वपाको निर्णयप्रति आक्रोश पोखिन्। संसद भवनभित्र प्रवेश गरी आगो बाल्ने घटनामा संलग्न व्यक्तिलाई ‘परिवर्तनकारी’का रूपमा प्रस्तुत गरिएकोप्रति उनको आपत्ति छ।
उनले व्यंग्यात्मक शैलीमा लेखेकी छन्, “नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा भदौ २४ गते दियो बाल्ने एक पुजारी, एक सच्चा भक्त। अब भने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट मोरङ–२ का उम्मेदवार। अत्यधिक मतले जिताइदिनु होला है।”
आफ्नो पुस्ताले भोगेको संघर्ष स्मरण गर्दै पाण्डेले जेन–जीमाथि अन्याय गरिएको आरोप लगाइन्। “मेरो पुस्ता सडकमा उत्रियो, जनताले तिरेको करको हिसाब माग्यो, परिवर्तनका लागि गोली खायो र मारियो,” उनले लेखेकी छन्, “तर आजसम्म भएका सबै विध्वंसको दोष जेन–जीकै काँधमा थुपारियो।”
उनका अनुसार जवाफदेहिता माग्ने युवापुस्ता ‘आतंककारी’को रूपमा चित्रित गरियो भने राज्य संरचनामाथि आक्रमण गर्नेहरूलाई परिवर्तनको संवाहकजस्तो प्रस्तुत गरिएको छ। “देश जलाउने विध्वंसकारी परिवर्तनकारी हुने र प्रश्न गर्ने जेन–जी आतंककारी ठहरिने हो भने यही हो त नयाँ नेपाल?” भन्दै उनले प्रश्न उठाएकी छन्।