काठमाडौं । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री तथा नेशनलिस्ट कांग्रेस पार्टी (एनसीपी) का वरिष्ठ नेता अजित पवारको विमान दुर्घटनामा निधन भएको छ ।
महाराष्ट्रको बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा उनको सवार विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा पवारको मृत्यु भएको हो । हिन्दुस्तान टाइम्सका अनुसार पवारका सहयोगीहरूले उनको मृत्यु पुष्टि गरेका छन् ।
दुर्घटनाका बेला विमानमा पाँच जना यात्रु सवार थिए । अजित पवारसँगै विदिप जाधव, पिंकी माली, सुमित कपुर र शम्भवी पाठक पनि विमानमा रहेका थिए ।
पवारका निकट सहयोगी किरण गुजरका अनुसार उपमुख्यमन्त्रीसहित छ जनाको शव अस्पतालमा ल्याइएको छ । दुर्घटनापछि उद्धार टोलीले तत्कालै घाइते तथा मृतकलाई अस्पताल पुर्याएको बताइएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार ६६ वर्षीय पवार जिल्ला परिषद् निर्वाचनअघि चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न बारामती जाँदै थिए । घटनापछि महाराष्ट्रको राजनीतिक वृत्तमा शोकको माहोल छ ।