रिङ ब्याक टोनविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ आज

0 Shares

काठमाडौँ । नेपाल टेलिकमका ल्यान्डलाइन तथा मोबाइल फोनमा अनिवार्य रूपमा बजाइने ‘रिङ ब्याक टोन’ विरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ आज हुँदैछ। उक्त रिट अधिवक्ता विमल पोखरेलले दायर गरेका हुन्।

न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ।

रिट निवेदनमा नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको छ। टेलिकमले प्रयोगकर्ताको इच्छाविपरीत पटक–पटक बजाइरहने रिङ ब्याक टोनले उपभोक्तालाई हैरान बनाएको र यसले सेवा प्रयोगमा असहजता सिर्जना गरेको जिकिर गरिएको छ।

रिटमा भनिएको छ, अनावश्यक धुनका कारण उपभोक्ताहरू ह्वाट्सएप, म्यासेन्जर र भाइबरजस्ता विदेशी डिजिटल सेवातर्फ आकर्षित हुन बाध्य भएका छन्। ती विदेशी सेवा प्रदायकहरू नेपालमा दर्ता नभएकाले यसबाट मुलुकको राजस्वमा समेत प्रत्यक्ष असर परेको उल्लेख छ।

त्यसैगरी, चाडपर्व, मेला तथा विभिन्न दिवसका नाममा बजाइने रिङ ब्याक टोनले प्रयोगकर्तालाई इच्छा विपरीत धुन सुन्न बाध्य बनाइ मानसिक तनाव सिर्जना गरिरहेको दाबी गरिएको छ।

रिटमार्फत यस्ता रिङ ब्याक टोन तत्काल बन्द गर्न परमादेशसहित आवश्यक आदेश जारी गर्न सर्वोच्च अदालतसँग माग गरिएको छ।

सम्बन्धित समाचारसबै