राजेन्द्र राईको चुनावी एजेन्डा: गाँजा खेती वैधानिकता देखि सुरुङमार्गसम्म

0 Shares

धनकुटा । नेकपा (एमाले) का तर्फबाट धनकुटाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्रकुमार राईले गाँजा खेतीलाई वैधानिक बनाउने विषयलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्।

बुधबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको १४ बुँदे प्रतिबद्धता पत्रमा उनले गाँजा खेतीलाई वैज्ञानिक ढंगले नियमन र व्यवस्थापन गर्दै स्थानीय अर्थतन्त्रको आधार बनाउने प्रस्ताव अघि सारेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका राईले गाँजा खेतीका कारण कानुनी झमेलामा परेका निर्दोष नागरिकका मुद्दा पुनरावलोकन गरी रिहाइका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। धनकुटाको आर्थिक रूपान्तरणका लागि गाँजा खेतीलाई वैधानिकता दिनु आवश्यक रहेको उनको तर्क छ।

राईको प्रतिबद्धता पत्रमा धरान–लेउती सुरुङमार्ग निर्माण, धनकुटामा शिक्षण अस्पताल स्थापना तथा चौबिसे र महालक्ष्मी क्षेत्रमा नमुना सहर विकास गर्ने योजना समावेश गरिएको छ।

कृषि क्षेत्रमा चिया, एभोकाडो, सुन्तला र किवीजस्ता उच्च मूल्यका बालीको व्यावसायिक उत्पादन विस्तार गर्ने र तिनको प्रशोधन केन्द्र स्थापना गर्ने योजना पनि उनले अघि सारेका छन्।

त्यसैगरी नमस्ते झरनादेखि नाम्जेसम्म केबलकार निर्माण, ऐतिहासिक तल्लो टुँडिखेललाई आधुनिक रंगशालामा रूपान्तरण तथा खुवालुङ लालीगुराँस पदमार्ग विकास गर्ने विषयलाई पनि राईले प्राथमिकतामा राखेका छन्।

राईले आफू सांसद र मन्त्री हुँदा सुरु भएका अधुरा विकास आयोजना सम्पन्न गर्ने तथा किसानलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराउन संघीय तहबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचारसबै