काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले सात प्रदेशको व्यवस्था मात्र नभई स्वायत्त, विशेष र संरक्षित क्षेत्र बनाउने प्रावधानसमेत गरेको बताएका छन्।
शुक्रबार मगर समुदायसँग आयोजित कार्यक्रममा बोल्दै उनले खाम–मगर सभ्यताको आधारमा स्वायत्त क्षेत्र निर्माण गर्न सकिने स्पष्ट पारे। संविधान निर्माणका क्रममा लामो छलफल र बहसपछि यी व्यवस्था समेटिएको उनको भनाइ छ।
“संविधान बनाउँदा हामीले सात प्रदेश मात्रै बनाउने निर्णय गरेका होइनौँ,” प्रचण्डले भने, “विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र बनाउने व्यवस्था संविधानमै लिपिबद्ध गरिएको छ।”
तर संविधानमा उल्लेख भएअनुसार आवश्यक कानुन नबन्दा ती व्यवस्था व्यवहारमा आउन नसकेको उनले स्वीकार गरे। “कानुन नबनेकै कारण स्वायत्त, विशेष र संरक्षित क्षेत्रका जनता संविधानले दिन खोजेको सुविधा पाउन सकेका छैनन्,” उनले बताए।
संविधानमा रहेका प्रावधानलाई कानुनी रूपमा कार्यान्वयन गरिए खाम–मगर स्वायत्त क्षेत्र स्थापना सम्भव हुने प्रचण्डको दाबी छ। यसले खाम–मगर समुदायको अधिकार, पहिचान र सभ्यतालाई नयाँ उचाइमा पुर्याउने उनको भनाइ थियो।
संविधान कार्यान्वयन हुन बाँकी विषयहरू पूरा गर्नु अहिलेको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै उनले त्यस दिशामा अघि बढ्न सकिने विश्वास व्यक्त गरे।