१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को काठमाडौंस्थित निजी निवासमा तोडफोड भएको घटना सार्वजनिक भएको छ।
प्रहरीका अनुसार शुक्रबार राति अज्ञात व्यक्तिहरूले बालेनको घरको गेटमा रहेको ग्रिल फुटाएका हुन्। प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले गेट फुटेको अवस्थामा फेला परेपछि घटनालाई चोरीको प्रयास हुन सक्ने आशंकामा अनुसन्धान थालिएको जानकारी दिए।
घटनाका बेला घरभित्र को–को थिए, कुनै सामान चोरी भयो वा भएन भन्ने विषयमा यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलको प्रारम्भिक अवलोकनपछि प्रहरीले आवश्यक प्रमाण संकलन गर्दै छानबिनलाई अघि बढाएको छ।
झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका बालेन हाल चुनावी प्रचार–प्रसारको सिलसिलामा कर्णाली प्रदेशमा रहेका छन्। घटनाबारे थप तथ्य खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।