काठमाडौँ । सार्वजनिक मञ्चमा विरोधीलाई ‘ओपन डिबेट’को चुनौती दिँदै आएका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जालमा भने आलोचनात्मक आवाजप्रति असहिष्णु देखिन थालेका छन्। आफ्नै आधिकारिक फेसबुक पेजबाट आलोचकहरूलाई क्रमशः ‘ब्लक’ गर्न थालिएको घटनाले ओलीको डिजिटल व्यवहारमाथि प्रश्न उठाएको छ।
पछिल्ला दिनमा पत्रकार, अन्य दलका नेता तथा कन्टेन्ट क्रिएटरहरू ओलीको फेसबुक पेजबाट ब्लक हुन थालेपछि यो विषय सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको हो। यसक्रममा पत्रकार भानुभक्त आचार्यले आफू आलोचनात्मक टिप्पणी गरेकै कारण ब्लक गरिएको सार्वजनिक गरेका छन्। उनका अनुसार, उनले गत भदौ २३ को घटनासँग जोडेर नेतृत्वको जवाफदेहिता खोज्दै माफीको माग गरेका थिए।
आचार्यले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “भदौ २३ मा नालायकीका कारण ज्यान गुमाएका युवाका विषयमा माफी माग्न आग्रह गरेँ, तर जवाफ दिनुको सट्टा मलाई ब्लक गरियो।” उनको भनाइले सत्ताधारी नेतृत्व आलोचना स्वीकार्न तयार छैन भन्ने सन्देश दिएको छ।
ओलीको ‘ब्लक सूची’ पत्रकारमै सीमित छैन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हिमेश पन्तले आफू पनि ओलीको पेजबाट ब्लक भएको जानकारी दिएका छन्। यस्तै, कन्टेन्ट क्रिएटर नवराज पाण्डेले व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया जनाउँदै ओलीको कदमलाई सामाजिक सञ्जालमा चर्चामा ल्याएका छन्।
लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर दाबी गर्दै आएका नेताले भर्चुअल स्पेसमा फरक व्यवहार देखाएको भन्दै टिप्पणीहरू तीव्र बनेका छन्। लेखक तथा विश्लेषक केशव कोइरालाले ओलीको कदमलाई ‘दोहोरो चरित्र’ को संज्ञा दिँदै सार्वजनिक बहसको चुनौती दिने नेताले आफ्नै समर्थक वा मतदाताको आलोचना नसुन्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।
यसबीच, अध्यक्ष ओलीको सचिवालयले भने यस विषयलाई सामान्य बताएको छ। सचिवालयका अनुसार सामाजिक सञ्जालमा कसलाई राख्ने वा हटाउने भन्ने निर्णय व्यक्तिको निजी स्वतन्त्रताभित्र पर्ने विषय हो।