कंगोको रुबाया कोल्टान खानीमा भीषण पहिरो, २०० भन्दा बढीको मृत्यु आशंका

0 Shares

काठमाडौं । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भागमा रहेको रुबाया कोल्टान खानीमा गएको भीषण पहिरोमा २०० भन्दा बढी मानिसको ज्यान गएको आशंका गरिएको छ। लगातारको वर्षापछि जमिन कमजोर बनेर बुधबार खानी भासिँदा ठूलो मानवीय क्षति भएको प्रारम्भिक विवरण आएको छ।

उत्तर किभु प्रान्तको राजधानी गोमा सहरबाट करिब ६० किलोमिटर उत्तर–पश्चिममा पर्ने उक्त खानी क्षेत्रमा बुधबार अचानक पहिरो गएको हो। विद्रोही समूहद्वारा नियुक्त प्रान्तीय गभर्नरका प्रवक्ता लुमुम्बा कबेरे मुयिसाले समाचार संस्था रोयटर्सलाई दिएको जानकारी अनुसार घटनामा खानी मजदुर, बालबालिका तथा बजार क्षेत्रमा काम गर्ने महिलाहरू समेत परेका छन्।

प्रवक्ता मुयिसाका अनुसार पहिरोका कारण २०० भन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। केहीलाई समयमै उद्धार गरिएको भए पनि उनीहरूको अवस्था गम्भीर रहेको छ। हाल कम्तीमा २० जना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

“वर्षायामका कारण जमिन अत्यन्तै ओसिलो र कमजोर बनेको थियो। पीडितहरू खानीभित्र काम गरिरहेका बेला माथिबाट जमिन भासिँदा दुर्घटना भयो,” मुयिसाले बताएका छन्।

प्रान्तीय गभर्नरका एक सल्लाहकारले मृतकको संख्या २०० नाघिसकेको दाबी गरे पनि समाचार एजेन्सी एएफपीले शुक्रबार साँझसम्म स्वतन्त्र स्रोतबाट यस तथ्यको पुष्टि हुन नसकेको जनाएको छ।

स्थानीय खानी मजदुर फ्रान्क बोलिंगोेका अनुसार अझै पनि धेरै मानिसहरू खानीको भग्नावशेष र लेदो ढिस्कोमुनि फसेको आशंका गरिएको छ। घटनास्थलमा उद्धारकर्मीहरूले शव निकाल्ने र बेपत्ता व्यक्तिको खोजी कार्य जारी राखेका छन्।

सम्बन्धित समाचारसबै