काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका उम्मेदवार खगेन्द्र सुनारका विषयमा सामाजिक सञ्जालमा उठेका चासो र बहसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
पार्टीले नेपालको संविधान, प्रचलित कानुन तथा सामाजिक–सांस्कृतिक संवेदनशीलताप्रति आफू सधैं सजग र प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। रास्वपाद्वारा जारी विज्ञप्तिमा सुनारले पार्टीमा आबद्ध हुनुअघि दिएका केही अभिव्यक्तिका कारण समाजमा उत्पन्न अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति सार्वजनिक रूपमा क्षमायाचना गरिसकेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार उम्मेदवार सुनारले आफू शाकाहारी रहेको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको स्पष्ट पारिसकेका छन्।
पार्टीले सामाजिक सञ्जालमा उनका केही अभिव्यक्तिलाई तोडमोड गरी प्रचार गरिएको भए पनि त्यसबाट उत्पन्न भ्रम र भावनात्मक चोटप्रति उम्मेदवारले आत्मालोचना गर्दै क्षमायाचना गरेको जनाएको छ।
यसैगरी, रास्वपाले उम्मेदवार सुनारलाई भविष्यमा सार्वजनिक अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र मर्यादा अपनाउन सचेत गराइएको जानकारी दिएको छ। उम्मेदवारको उद्देश्य कुनै धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएकोमा पार्टी आश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले आफ्नो विधान र प्रस्तावनामा नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानलाई मूल मर्मका रूपमा अंगीकार गरिएको स्मरण गराएको छ। साथै, देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता संरक्षणमा पार्टी सधैं प्रतिबद्ध रहने स्पष्ट पारेको छ।