काठमाडौँ । गाजामा इजरायली सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजाको स्थानीय प्रशासनले शनिबार भएको यो हमला संघर्षविरामको दोस्रो चरणपछि भएको सबैभन्दा ठूलो आक्रमण भएको जनाएको छ।
हमासअन्तर्गतको सिभिल डिफेन्स एजेन्सीका अनुसार दक्षिणी गाजाको खान युनिस क्षेत्रमा विस्थापितहरू आश्रय लिइरहेका टेन्टहरूलाई लक्षित गरी हेलिकोप्टरबाट आक्रमण गरिएको थियो । मारिनेहरूमा महिला र बालबालिका पनि परेका छन्।
प्यालेस्टिनी पक्षले संघर्षविराम लागू भएयता यस्तो ठूलो हमला हुनु गम्भीर उल्लंघन भएको बताएको छ । तर इजरायली सेनाले भने हमासतर्फबाट सम्झौता उल्लंघन भएपछि जवाफी कारबाही गरिएको दाबी गरेको छ । इजरायल र हमासबीच पछिल्ला दिनहरूमा एक–अर्कामाथि संघर्षविराम उल्लंघनको आरोप–प्रत्यारोप जारी छ।
इजरायल–हमासबीचको हालको द्वन्द्व ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणपछि चर्किएको हो । उक्त आक्रमणमा १० नेपालीसहित करिब १ हजार २०० जनाको ज्यान गएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।
हमासको स्वास्थ्य विभागका अनुसार त्यसयता गाजामा इजरायली सैन्य कारबाहीका कारण ७१ हजार ६६० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । पछिल्लो पटक १० अक्टोबर २०२५ मा संघर्षविराम लागू भएयता मात्रै ५०९ प्यालेस्टिनी र चार इजरायली सैनिक मारिएका छन्।