काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ । ब्रेन ह्यामरेजबाट पीडित सिटौलाको आइतबार उपचारका क्रममा निधन भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानमा सहभागी हुँदै उनी टोलीसहित अछाम पुगेका थिए । अछाममा रहँदा अचानक बेहोस भएर ढलेपछि उनलाई तत्काल उपचारका लागि शुक्रबार काठमाडौं ल्याइएको थियो ।
काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा चिकित्सकले आइतबार उनलाई मृत घोषणा गरेका हुन् ।
सिटौलाको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको परिवार स्रोतले जनाएको छ ।
चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष समेत रहेका सिटौलाले सयौँ नेपाली चलचित्रहरूको प्रचार–प्रसार (प्रमोसन) क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए । उनको निधनले नेपाली पत्रकारिता र चलचित्र क्षेत्रले एक अनुभवी र सक्रिय व्यक्तित्व गुमाएको छ ।