काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएर शहीद घोषणा गरिएका व्यक्तिका परिवारलाई झण्डै १२ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरेको छ । जेनजी शहीद परिवारको हितका लागि स्थापना गरिएको ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ लाई ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने प्रस्ताव अर्थ मन्त्रालयमा पेस भइसकेको छ ।
पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त कल्याणकारी समाजमार्फत शहीद परिवार लक्षित कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सोमबार वितरण कार्यक्रमको विस्तृत खाका र रकमसहितको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको मन्त्रालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सुरुमा प्रचलित कानुनअनुसार सुविधा उपलब्ध गराउने निर्णय गरिएको थियो । तर, जेनजी आन्दोलनका सहभागी पक्षले जीवन निर्वाह भत्ता नियमित तलब सरह हुनुपर्ने माग उठाएपछि मन्त्रिपरिषद् बैठकबाट पुनः अनुदान रकम दिने निर्णय गरिएको हो ।
‘पहिला कानुनी व्यवस्थाअनुसार मात्रै सुविधा दिने भनिएको थियो । तर जेनजी पक्षको मागपछि क्याबिनेटले अनुदानकै रूपमा रकम उपलब्ध गराउने निर्णय गर्यो,’ मन्त्रालय स्रोतले भन्यो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । तीमध्ये ४२ जनालाई सरकारले औपचारिक रूपमा शहीद घोषणा गरिसकेको छ ।
शहीद घोषणा गरिएका परिवारलाई आगामी १० वर्षसम्म मासिक २१ हजार ८ सय रुपैयाँ उपलब्ध गराइने सरकारको तयारी छ । चाडपर्व भत्तासहित वार्षिक १३ महिनाको सुविधा दिइने भएकाले कुल अनुदान रकम ११ करोड ९० लाख २८ हजार रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ ।