सरकारद्वारा सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट फिर्ता

0 Shares

काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गरिएको जानकारी दिए । उनका अनुसार उक्त विधेयकका विषयमा थप छलफल, परामर्श र सुधारको आवश्यकता देखिएकाले सरकारले संसदबाट फिर्ता लिने निर्णय गरेको हो ।

गृहमन्त्री अर्यालले मन्त्रिपरिषद् बैठकले अर्को महत्वपूर्ण निर्णय पनि गरेको जानकारी दिए । उनका अनुसार निर्माणाधीन संसद भवन परिसरमा जेन–जी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरु योजनामा संशोधन गर्न स्वीकृति प्रदान गरिएको छ ।

‘निर्माणाधीन संसद भवन परिसरमा जेन–जी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने उद्देश्यले सिंहदरबार परिसरको गुरु योजनामा संशोधन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ,’ गृहमन्त्री अर्यालले भने ।

सरकारको यस निर्णयसँगै सामाजिक सञ्जालसम्बन्धी विधेयकका विषयमा पुनः नयाँ ढङ्गले छलफल र परिमार्जनको बाटो खुल्ने अपेक्षा गरिएको छ भने जेन–जी आन्दोलनका शहीदहरूको स्मृतिमा शालिक निर्माण गर्ने निर्णयलाई प्रतीकात्मक र ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।

सम्बन्धित समाचारसबै