झलनाथ खनालको चेतावनी : बौद्ध प्रवचनले कमजोर पारेको नेपाल–चीन सम्बन्ध

0 Shares

काठमाडौँ । तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिम्पोछेको नेपाल आगमन र काठमाडौँको बौद्ध क्षेत्रमा जारी प्रवचन कार्यक्रमलाई लिएर पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्।

मंगलबार काठमाडौँ क्षेत्र नम्बर ८ अन्तर्गत वडा नम्बर–१५ को निर्वाचन परिचालन समिति सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै खनालले उक्त गतिविधि सामान्य धार्मिक कार्यक्रमको सीमाभन्दा बाहिर रहेको दाबी गरे। उनका अनुसार यस्तो कार्यक्रम कूटनीतिक रूपमा अत्यन्त संवेदनशील विषयसँग जोडिएको छ, जसलाई सरकारले हल्का रूपमा लिन नहुने थियो।

सरकारकै संरक्षण र मौन समर्थनमा यस्ता गतिविधि भइरहेको आरोप लगाउँदै खनालले यसले नेपालको घोषित ‘एक चीन नीति’ माथि सीधा असर पार्ने बताएका छन्। उनले हालको अवस्थाले नेपाल–चीन सम्बन्धलाई अहिलेसम्मकै कमजोर चरणमा पुर्‍याएको टिप्पणी गरे।

हाल तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिम्पोछे काठमाडौँमा १० दिने बौद्ध धर्मसम्बन्धी प्रवचनमा सहभागी भइरहेका छन्। यही विषयलाई लिएर छिमेकी मित्रराष्ट्र चीनले कूटनीतिक असन्तुष्टि व्यक्त गरेको चर्चा चलिरहेकै बेला खनालको यस्तो प्रतिक्रिया आएको हो।

खनालले सरकारको रवैयालाई गैरजिम्मेवार भन्दै यसले केवल कूटनीतिक सम्बन्धमा मात्र होइन, देशको आन्तरिक राजनीतिक स्थायित्वमा समेत नकारात्मक असर पार्न सक्ने चेतावनी दिए।
‘यस्ता कदमहरूले राष्ट्रिय हितमाथि गम्भीर प्रश्न खडा गर्छ,’ उनले भने।

उनले नेपालको भूराजनीतिक संवेदनशीलता बुझ्दै छिमेकी राष्ट्रहरूसँग सन्तुलित र जिम्मेवार सम्बन्ध कायम राख्न सरकारलाई आग्रह गरे। साथै, एक चीन नीतिप्रति स्पष्ट, दृढ र व्यवहारिक प्रतिबद्धता देखाउन सरकारलाई चेतावनीसमेत दिए।

सम्बन्धित समाचारसबै