काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको निधन भएको छ। ९७ वर्षको उमेरमा आज उनको देहावसान भएको हो।
पारिवारिक स्रोतका अनुसार भोजप्रसाद भट्टराईको उपचारका क्रममा काठमाडौँस्थित न्युरो हस्पिटल, बाँसबारीमा निधन भएको हो। लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित उनी अस्पतालमा उपचाररत थिए।
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता रोशन पोखरेलले जानकारी दिएअनुसार स्वर्गीय भट्टराईको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ।
भोजप्रसाद भट्टराईका दुई छोरा र दुई छोरी रहेका छन्। उनका जेठा छोरा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पितृवियोगमा विभिन्न राजनीतिक दलका नेताहरू, सामाजिक अभियन्ता, शुभेच्छुक तथा समर्थकहरूले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।