काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले आफ्नो नाम प्रयोग गरी नक्कली चुनावी प्रतिबद्धता पत्र बनाएर सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिएको भन्दै निर्वाचन आयोग र नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन्।
उक्त कार्यले मतदातालाई भ्रमित तुल्याउने र आफ्नो चरित्र हत्या गर्ने उद्देश्य राखेको दाबी गर्दै पुनले कानुनी कारबाहीको मागसहित उजुरी दिएको उनका सचिवालयले जनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पुन गृहजिल्ला रोल्पाबाट उम्मेदवार रहेका छन्।
उजुरीमा सामाजिक सञ्जालमार्फत अत्यन्तै झुटा, भ्रामक तथा सार्वजनिक नैतिकता र शिष्टाचार विपरीतका सामग्रीहरू प्रसारण भइरहेको उल्लेख गरिएको छ। ती सामग्री विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कसुरजन्य रहेको र निर्वाचन आचारसंहिताको समेत उल्लङ्घन भएको दाबी पुनले गरेका छन्।
निवेदनमा ‘मतदातालाई भ्रमित पार्दै स्वतन्त्र, निष्पक्ष र स्वच्छ निर्वाचन प्रक्रियामाथि प्रहार गरिएको’ उल्लेख गर्दै यस्ता भ्रामक सामग्री तत्काल हटाउन र त्यसमा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न माग गरिएको छ।
पुनका अनुसार प्रतिस्पर्धीमध्येका केही उम्मेदवारले राजनीतिक लाभका लागि आफ्नो नाम जोडेर झुटा प्रतिबद्धता पत्र तयार पारी सामाजिक सञ्जालमा प्रचार गरेका छन्। त्यसैले सो कार्यमा संलग्नहरूमाथि कारबाहीका लागि निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी दिनु परेको उनको भनाइ छ।
उनले पार्टीको तर्फबाट प्रस्तुत गरिने औपचारिक चुनावी घोषणापत्र लेखन अन्तिम चरणमा रहेको जानकारी दिँदै आफूले व्यक्तिगत रूपमा मौखिक अभिव्यक्तिबाहेक कुनै छुट्टै लिखित घोषणा वा प्रतिबद्धता पत्र सार्वजनिक नगरेको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमा पुनको नाममा फैलाइएको नक्कली प्रतिबद्धता पत्रमा रोल्पा सदरमुकाम र सुलिचौरलाई रेड लाइट एरिया घोषणा गर्ने, बडाचौरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, जिल्लामा विश्वविद्यालय र प्रत्येक वडामा क्याम्पस खोल्ने, माडीचौर फुटबल मैदानमा वीर अस्पतालभन्दा ठूलो अस्पताल बनाउने तथा मेट्रो रेल र केबलकार निर्माण गर्ने जस्ता अव्यावहारिक र तथ्यहीन विषय समेटिएको उल्लेख गरिएको छ।