झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड भएको छ। बुधबार राति झापाको कमल गाउँपालिका–२ मा अवस्थित कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको हो।
झापा निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत पर्ने उक्त कार्यालय केही दिनअघि मात्रै सञ्चालनमा आएको थियो। कार्यालय रास्वपाका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारप्रसार तथा मतदातासँगको भेटघाटका लागि प्रयोग हुँदै आएको जनाइएको छ।
तोडफोडका क्रममा कार्यालयको झ्यालमा जडान गरिएका सिसा फुटेका छन्। रास्वपाका जिल्ला सभापति प्रकाश पाठकका अनुसार सिसा फुट्नुबाहेक अन्य भौतिक संरचनामा भने क्षति पुगेको छैन।
घटनाबारे जानकारी प्राप्त भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान अगाडि बढाएको जनाएको छ। प्रहरीका अनुसार घटनाको वास्तविक कारण र संलग्न समूह पत्ता लगाउन आवश्यक प्रमाण संकलनको काम भइरहेको छ।