मेघालय कोइलाखानी विस्फोट : खोटाङका दुई दाजुभाइको मृत्यु, चार नेपाली गम्भीर घाइते

0 Shares

खोटाङ । भारतको मेघालय राज्यमा रहेको कोइलाखानीमा भएको विस्फोटमा खोटाङका एउटै परिवारका दुई दाजुभाइको ज्यान गएको छ भने अन्य चार नेपाली गम्भीर घाइते भएका छन्।

मेघालयको उम्साङघाट क्षेत्रमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा बराहपोखरी गाउँपालिका–१, सालघारीभञ्ज्याङका २७ वर्षीय पूर्णबहादुर खपांगी मगर र २४ वर्षीय सुरेन्द्र खपांगी मगरको घटनास्थलमै मृत्यु भएको हो। पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित रहेको स्थानीयले बताएका छन्।

स्थानीय शिवकुमार श्रेष्ठका अनुसार सोही घटनामा बमबहादुर खपांगी मगर, कर्णबहादुर खपांगी मगर, नरबहादुर खपांगी मगर र उदयपुर साउनेका ललितबहादुर मगर गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ र अवस्था चिन्ताजनक रहेको बताइएको छ।

रोजगारीका लागि मेघालय पुगेका सातजनामध्ये बराहपोखरी–वालम्पाका ताराबल मगर भने सकुशल रहेको जनाइएको छ। विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाको जानकारी घरपरिवार र स्थानीयलाई दिएका थिए।

मृतक तथा घाइतेहरू गत पुस ३ गते रोजगारीको खोजीमा मेघालय गएको छिमेकीहरूले बताएका छन्। हिउँदको समयमा खोटाङका विभिन्न स्थानका युवाहरू रोजगारीका लागि भारत जाने क्रम बढ्दो रहेको स्थानीयको भनाइ छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार यस विस्फोटमा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

यसैबीच, मेघालयस्थित कोइलाखानीमा भएको दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। उनले ज्यान गुमाउने प्रत्येक परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराउने घोषणा गरेका छन्।

सम्बन्धित समाचारसबै