काठमाडौँ । चीनले गोप्य रूपमा आणविक विस्फोटक उपकरणको परीक्षण गरेको तथा ठूलो परिमाणमा थप परीक्षणको तयारी गरिरहेको अमेरिकाले आरोप लगाएको छ। अमेरिकाले यस्तो गतिविधि अन्तर्राष्ट्रिय आणविक परीक्षण प्रतिबन्धको उल्लङ्घन भएको दाबी गरेको छ।
जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घीय निशस्त्रीकरण सम्मेलनमा अमेरिकी उपमन्त्री थोमस डि–नान्नोले चीनले गोप्य रूपमा आणविक उपकरण परीक्षण गरेको जानकारी आफूहरूसँग रहेको बताएका हुन्। उनले चीन सयौँ टन क्षमतासम्मको परीक्षणको तयारीमा रहेको र त्यसबारे पुष्टि गर्न सकिने दाबी गरेको समाचार संस्था एएफपीले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि गएको वर्षको अन्त्यतिर चीनमाथि यस्तै प्रकारको आरोप लगाएका थिए। पछिल्लो अभिव्यक्ति त्यही सन्दर्भमा आएको विश्लेषण गरिएको छ।
यसैबीच, अमेरिका र रूसबीचको अन्तिम प्रमुख आणविक हतियार नियन्त्रण सन्धि ‘न्यू स्टार्ट’ को म्याद हालै सकिएको छ। उक्त सन्धि सकिएसँगै विश्वका प्रमुख आणविक शक्तिहरूबीच नयाँ समझदारीको आवश्यकता औंल्याउँदै अमेरिकाले रुस र चीनसँग त्रिपक्षीय वार्ताको प्रस्ताव अघि सारेको छ। आणविक हतियारको सीमा निर्धारण तथा पारदर्शितासम्बन्धी नयाँ संरचना बनाउने उद्देश्यसहित अमेरिकाले पहल थालेको बताइएको छ।
चीनले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। पछिल्लो आरोप र प्रस्तावित त्रिपक्षीय वार्ताले अन्तर्राष्ट्रिय सुरक्षा र कूटनीतिक सम्बन्धमा नयाँ बहस सिर्जना गरेको विश्लेषकहरू बताउँछन्। – एजेन्सी