प्राइम अस्पताल र विराट व्यापार संघबीच स्वास्थ्य सेवा सम्झौता

0 Shares

विराटनगर । विराटनगरस्थित प्राइम अस्पताल प्रा.लि. र विराट व्यापार संघबीच स्वास्थ्य सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार विराट व्यापार संघका सदस्य, कर्मचारी तथा उनीहरूका परिवारले प्राइम अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्।

सम्झौताअनुसार संघका सदस्यले साधारण बेड शुल्क तथा आईसीयू र भेन्टिलेटर सेवामा ५० प्रतिशत छुट पाउनेछन्। त्यस्तै, ल्याब तथा रेडियोलोजी परीक्षणमा २५ प्रतिशत र सीटी स्क्यान तथा शल्यक्रियामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

संघका आश्रित परिवारका सदस्यका लागि साधारण बेड शुल्कमा ९० प्रतिशत, ल्याब परीक्षणमा २० प्रतिशत, सीटी स्क्यान तथा शल्यक्रियामा १० प्रतिशत र आईसीयू तथा भेन्टिलेटर सेवामा ५ प्रतिशत छुट दिइने सम्झौतामा उल्लेख छ।

त्यसैगरी, संघका कर्मचारीले ल्याब परीक्षणमा १५ प्रतिशत, बेड शुल्क, सीटी स्क्यान तथा शल्यक्रियामा १० प्रतिशत र आईसीयू तथा भेन्टिलेटर सेवामा ५ प्रतिशत छुट पाउनेछन्।

छुट सुविधा लिन विराट व्यापार संघको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ। सामाजिक सुरक्षा कोष, विपन्न नागरिक औषधोपचार कोष वा अन्य बीमा सुविधामार्फत सेवा लिने सेवाग्राहीका हकमा भने यो छुट लागू नहुने सम्झौतामा उल्लेख छ।

कार्यक्रममा विराट व्यापार संघका अध्यक्ष प्रमोदकुमार अग्रवाल (जिन्दल) ले प्राइम अस्पतालले छोटो समयमै स्वास्थ्य क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएको बताए। बिरामीलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालसँग सहकार्य गरिएको उनले बताए।

प्राइम अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक सन्तोषकुमार मण्डलले अस्पतालले सुलभ र भरपर्दो उपचार सेवा उपलब्ध गराउँदै आएको बताए। उनका अनुसार डा. रमेश चौधरियाको नेतृत्वमा विभिन्न विशेषज्ञ चिकित्सकबाट अस्पतालले उपचार सेवा प्रदान गर्दै आएको छ।

सम्झौताबाट विराट व्यापार संघमा आबद्ध व्यवसायी, कर्मचारी तथा उनीहरूका परिवारलाई उपचारका क्रममा आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै