बिना अनुमति मोटरसाइकल र्‍याली निकाल्दा सुर्खेतमा २५ युवा पक्राउ

0 Shares

सुर्खेत । आसन्न निर्वाचनको सन्दर्भमा आचारसंहिता उल्लङ्घन गरेको आरोपमा सुर्खेत प्रहरीले ‘द डेन्जरस स्कुल’ नामक समूहमा आबद्ध २५ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार शनिबार दिउँसो वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट नजिक तीनकुने चोकबाट उनीहरूलाई पक्राउ गरिएको हो। वीरेन्द्रनगर–३ तातापानीमा आधारित उक्त समूहले प्रशासनको अनुमति बिना कालो र सेतो झन्डासहित मोटरसाइकल र्‍याली निकालेको प्रहरीले जनाएको छ।

र्‍यालीका क्रममा होहल्ला गर्दै सार्वजनिक शान्ति भङ्ग गरेको तथा निर्वाचन आचारसंहिता र प्रचलित कानुनविपरीत गतिविधि गरेको आरोप छ। प्रहरीले यसलाई सुरक्षा चुनौतीका रूपमा लिएको बताएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय र नगर प्रहरी कार्यालयबाट खटिएको करिब ३० जनाको संयुक्त टोलीले दिउँसो २:५० बजे उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरूको साथबाट ८ वटा मोटरसाइकल र ४ वटा स्कुटी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

डीएसपी बुढ्थापाले निर्वाचनको संवेदनशील समयमा बिना अनुमति र्‍याली निकाल्ने वा आचारसंहिता उल्लङ्घन गर्ने जोसुकैलाई कानुनी कारबाही गरिने स्पष्ट पारे। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित समाचारसबै