नेपाल प्रहरी रणनीतिक सम्मेलन सुरु, भावी कार्यनीतिमा छलफल

0 Shares

काठमाडौँ । प्रहरीको कामकारबाहीलाई समयमै र प्रभावकारी बनाउने उद्देश्यले ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२’ आजदेखि काठमाडौँमा सुरु भएको छ। दुई दिनसम्म चल्ने यस सम्मेलनको मुख्य उद्देश्य भविष्यका लागि प्रहरी सेवाको रणनीति निर्धारण गर्नु रहेको छ।

आइतबार उद्घाटन समारोहमा गृहमन्त्री ओम प्रकाश अर्यालले आन्तरिक सुरक्षा र प्रहरी सेवाका विविध आयामबारे नागरिक समाज, सुरक्षा विज्ञ र विभिन्न क्षेत्रका प्रतिनिधिसँगको छलफल सकारात्मक कदम भएको बताए। उनले भने, “प्रहरी सेवाका नीति निर्माणमा जनअपेक्षा र नागरिक तहको सहभागिता हुँदा मात्र योजनाहरू व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकिन्छ।”

सम्मेलनका अवसरमा प्रहरीको अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेका तीनवटा महत्त्वपूर्ण अध्ययन प्रतिवेदनहरू सार्वजनिक गरिएको छ। यी प्रतिवेदनमा सामाजिक सञ्जालको प्रयोग र साइबर अपराध, प्रहरी पोसाक परिमार्जन, र ट्राफिक प्रहरीको कार्यबोझ तथा व्यवहारसम्बन्धी विषय समेटिएका छन्।

गृहसचिव राजकुमार श्रेष्ठले प्रहरी व्यवस्थापनमा देखिएका चुनौतीहरू सम्बोधन गर्न यो सम्मेलन कोशेढुङ्गा सावित हुने बताए। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संविधान र कानुनको दायराभित्र रहेर शान्ति सुव्यवस्था कायम राख्ने र मानवअधिकार संरक्षण गर्दै व्यावसायिक सेवा प्रदान गर्न नेपाल प्रहरी सधैं कटिबद्ध रहेको स्पष्ट पारे।

उनले संघीयताको कार्यान्वयनसँगै प्रहरीको भूमिका परिवर्तन भएको उल्लेख गर्दै प्रविधिको प्रयोग र रणनीतिक सोचलाई सुदृढ गर्नु वर्तमान प्राथमिकता रहेको बताए।

सम्बन्धित समाचारसबै