वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१० मा अवैध रूपमा सञ्चालन हुँदै आएको गोदाममा छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्। घटनामा सुरक्षाकर्मीका दुई सवारीसाधनसमेत क्षतिग्रस्त भएका छन्।
सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साअन्तर्गत सीमा सुरक्षा गुल्म र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा रहेको गोदाममा छापा मारेको थियो। छापाका क्रममा अवैध रूपमा भण्डारण गरिएको करिब ७ लाख रुपैयाँभन्दा बढी मूल्यको कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद प्रक्रिया जारी रहँदा तस्कर समूहले ढुंगामुढा गर्दै सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो। ढुंगामुढाबाट सशस्त्र प्रहरीको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा क्षति पुगेको छ। घटनामा ३ जना सशस्त्र प्रहरी घाइते भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अवैध कारोबारमा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि खोजी कार्य तीव्र पारिएको बताइएको छ।







