विराटनगर, मोरङ – विराटनगर महानगरपालिका–५ पुलचोक क्षेत्रमा आइतबार राति करिब १ बजे भएको सवारी दुर्घटनाबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि लागूऔषध ओसारपसारको संगठित सञ्जालबारे प्रहरी अनुसन्धान तीव्र बनेको छ।
बा ८ च ६५०८ नम्बरको स्कोरपिओ गाडी भित्री सडक हुँदै तीव्र गतिमा गुडिरहेको अवस्थामा अनियन्त्रित भई सडकछेउको खाल्डोमा खसेको थियो। दुर्घटनाको सूचना पाएलगत्तै सीआरभी बरगाछी र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोली घटनास्थल पुग्दा गाडी खाल्डोमा अड्किएको अवस्थामा फेला पर्यो, तर चालक भने फरार भइसकेका थिए।प्रहरीले गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा सिट र डिक्कीमा प्लास्टिकले बेरिएका पोका–पोका अवस्थामा लुकाइछिपाइ राखिएको करिब ४२० किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।उनका अनुसार दुर्घटनापछि चालक भागेको पाइएको छ भने बरामद गाँजा र गाडी जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान अघि बढाइएको छ। खाल्डोमा अड्किएको गाडीलाई क्रेनको सहयोगमा निकालिएको थियो।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार सुरक्षाकर्मीलाई छल्न तीव्र गतिमा गाडी कुदाउँदा दुर्घटना भएको हुन सक्छ। बरामद गाँजा भारततर्फ तस्करी गर्न लैजान खोजिएको आशंका गरिएको छ। यद्यपि, गाँजा कहाँबाट ल्याइएको र अन्तिम गन्तव्य कहाँ थियो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।प्रहरीले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको जनाएको छ। चेकजाँच कडा भएपछि तस्करहरूले मुख्य सडक छोडेर भित्री मार्ग प्रयोग गर्ने प्रवृत्ति बढेको प्रहरीको भनाइ छ। पुलचोक क्षेत्र पनि भित्री मार्गतर्फ जाने संवेदनशील बिन्दुका रूपमा चिनिन्छ।यति ठूलो परिमाणमा गाँजा ओसारपसार हुँदा संगठित सञ्जालको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ। गाडीको दर्ता विवरणका आधारमा मालिकसम्म पुग्ने प्रक्रिया सुरु गरिएको छ भने चालकको पहिचान र पक्राउका लागि खोजी तीव्र पारिएको छ।एसपी कटवालले लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताउँदै अवैध धन्दामा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे।प्रहरीले ४२० किलो गाँजा बरामदलाई ठूलो सफलता मान्दै सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रण र अपराध नियन्त्रण अभियान अझ कडा बनाइने जनाएको छ।







