२४ घण्टामा १९ विपद्का घटना,३४ लाखभन्दा बढी क्षति

0 Shares

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले पछिल्लो २४ घण्टामा देशभर १९ वटा विपद्का घटना भएको जनाएको छ। फागुन ४ गते बिहान १० बजेदेखि ५ गते बिहानसम्म भएका घटनामध्ये १५ वटा आगलागीका रहेको विवरणमा उल्लेख छ।

प्राधिकरणका अनुसार असावधानी र हिउँदको सुक्खा मौसमका कारण आगलागीका घटना बढिरहेका छन्। सामान्य सतर्कता अपनाउँदा समेत यस्ता घटना न्यूनीकरण गर्न सकिने बताइएको छ।

आगलागीका घटना तेह्रथुम, संखुवासभा र मोरङमा एक एक वटा भएका छन् भने सिरहा, सर्लाही र स्याङजा मा दुई दुई वटा घटना भएका छन्। त्यस्तै बारा, पर्सा, रुपन्देही र बझाङ मा पनि आगलागीबाट भौतिक क्षति पुगेको छ।

यसै अवधिमा संखुवासभा, सोलुखुम्बु र सर्लाहीमा डढेलो लागेको छ भने बैतडी मा जनावरको आक्रमणको घटना भएको जनाइएको छ।यी घटनामा परी ६ जना घाइते भएका छन्। प्रारम्भिक विवरणअनुसार करिब ३४ लाख १२ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

हिउँदमा सुख्खा र हावाहुरीका कारण आगलागीको जोखिम उच्च हुने भएकाले आगो बाल्दा, विद्युत् प्रयोग गर्दा र जङ्गल क्षेत्र आसपास सचेत रहन प्राधिकरणले सर्वसाधारणसँग अपिल गरेको छ।

सम्बन्धित समाचारसबै