निर्वाचन सचेतनाका लागि टिकटक भिडियो प्रतियोगिता

0 Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै निर्वाचन आयोग ले सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा फैलाउने उद्देश्यले टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ।

युवापुस्तालाई निर्वाचन प्रक्रियामा सक्रिय बनाउने तथा डिजिटल माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यसहित आयोगले प्रतियोगिता सञ्चालन गर्न लागेको हो। सहभागीले निर्वाचनको महत्व, मतदान गर्ने सही तरिका, मतदाताको अधिकार र कर्तव्य, उम्मेदवार छनोटका आधार तथा निर्वाचन आचारसंहितासम्बन्धी विषय समेटेर अधिकतम एक मिनेटको मौलिक भिडियो तयार गर्नुपर्नेछ।

आयोगका अनुसार भिडियो संवादमूलक, सन्देशप्रधान तथा आफ्नै मौलिक अडियो र अभिनयमा आधारित हुनुपर्नेछ। प्राप्त भिडियोमध्ये सबैभन्दा बढी भ्युज प्राप्त गर्ने तथा सन्देशका दृष्टिले प्रभावकारी ठहरिने तीन उत्कृष्ट भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार रुपैयाँ र तृतीयले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। छनोटका क्रममा भिडियोको गुणस्तर, प्रस्तुति, अभिनय, मौलिकता तथा समाजमा पार्ने प्रभावलाई मुख्य आधार बनाइने आयोगले जनाएको छ।

सहभागीले भिडियो टिकटकसहित अन्य सामाजिक सञ्जालमा अपलोड गरी त्यसको लिंक फागुन १७ गतेभित्र आयोगको आधिकारिक इमेलमा पठाउनुपर्नेछ। एक व्यक्तिले एउटै विषयमा एउटा मात्र भिडियो पठाउन पाउने व्यवस्था गरिएको छ।

उत्कृष्ट ठहरिएका भिडियोहरू आयोगका आधिकारिक सामाजिक सञ्जालमार्फत पुनः प्रसारण गर्ने तयारीसमेत गरिएको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई निर्वाचन शिक्षा र मतदाता सचेतनासँग जोड्ने प्रयासस्वरूप यो अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै