काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रपति रामचन्द्र पौडेलबिच राष्ट्रपति भवन शीतल निवासमा महत्त्वपूर्ण भेटवार्ता भएको छ। बुधबार बिहान सर्वदलीय बैठक सम्पन्न भएलगत्तै सभापति लामिछाने राष्ट्रपति पौडेलसँगको संवादका लागि शीतल निवास पुगेका हुन्।
भेटका क्रममा सभापति लामिछानेले सुनसरीमा घटेको पछिल्लो घटना, सोही विषयमा आयोजना गरिएको सर्वदलीय बैठकमा भएका छलफलका निष्कर्षहरू र देशको समसामयिक राजनीतिक अवस्थाबारे राष्ट्रपति पौडेललाई विस्तृत जानकारी गराएका छन्।
राष्ट्रपति सचिवालयका अनुसार सर्वदलीय बैठकमा सुनसरी घटनालाई लिएर राजनीतिक दलहरूबिच भएको गहन छलफल, सामाजिक सद्भाव र शान्ति-सुरक्षा पुन:स्थापनाका लागि बनेको साझा धारणाबारे सभापति लामिछानेले राष्ट्रपतिलाई अवगत गराएका थिए।
सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र त्यसले निम्त्याउन सक्ने सुरक्षा तथा सामाजिक असरलाई ध्यानमा राख्दै सर्वदलीय तहमा भएका पहलहरूबारे जानकारी गराउनु भेटको मुख्य उद्देश्य रहेको बताइएको छ।
सुनसरी घटनाका साथै सभापति लामिछाने र राष्ट्रपति पौडेलबिच देशको पछिल्लो राजनीतिक घटनाक्रम, शान्ति-सुरक्षाको समग्र स्थिति र राष्ट्रिय विषयहरूमा समेत विचार-विमर्श भएको छ।
सर्वदलीय बैठकलगत्तै भएको यस भेटवार्तालाई सुनसरीको स्थिति सामान्य बनाउन, राजनीतिक दलहरूबिच सौहार्दता कायम राख्न र अभिभावकीय संस्थाका रूपमा राष्ट्रपतिलाई समसामयिक स्थितिबारे सुसूचित गराउने महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।