काठमाडौँ । विश्वभर आज अन्तरराष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यस वर्ष ‘बहुभाषिक शिक्षामा युवाको आवाज’ नारासहित दिवस मनाइँदै भाषा, संस्कृति र पहिचानको संरक्षणमा जोड दिइएको छ ।
बहुभाषिकता र बहुसांस्कृतिकताको माध्यमबाट विविधतामा एकता कायम गर्दै अन्तरराष्ट्रिय समझदारी प्रवर्द्धन गर्नु यस दिवसको मुख्य उद्देश्य हो ।
यो दिवस सन् २००० देखि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा हरेक वर्ष फेब्रुवरी २१ मा मनाइँदै आएको छ । सन् १९९९ मा बङ्गलादेश को पहलमा प्रस्ताव अघि सारिएको थियो भने सन् २००८ मा संयुक्त राष्ट्रसंघ महासभा ले यसलाई अन्तरराष्ट्रिय भाषा वर्ष घोषणा गर्दै औपचारिक मान्यता दिएको थियो ।
यस अवसरमा काठमाडौँस्थित बङ्गलादेशको दूतावासले सहिद स्मृति दिवससँगै विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
यसै क्रममा शुक्रबार भाषा आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला तथा नेपालका लागि बङ्गलादेशका राजदूत शफीकुर रहमानको सहभागिता रहेको थियो ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार भाषाले विकास प्रवर्द्धन, सांस्कृतिक विविधता संरक्षण, अन्तरसांस्कृतिक संवाद सुदृढीकरण तथा सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।