काठमाडौँ । नेपाल र पोर्चुगल बीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उद्देश्यले स्थापना गरिएको परामर्श संयन्त्र ‘बीसीएम’ को पहिलो बैठक लिस्बन मा सम्पन्न भएको छ ।
पोर्चुगलको परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा द्विपक्षीय व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा तथा विज्ञान–प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सहमति भएको छ ।
बैठकमा नेपाल–पोर्चुगल सम्बन्धका राजनीतिक, आर्थिक तथा कन्सुलर मामिलासहित समग्र द्विपक्षीय पक्षहरूको समीक्षा गरिएको थियो । साथै जलवायु परिवर्तन तथा साझा चासोका क्षेत्रीय र बहुपक्षीय मुद्दामा पनि दुवै पक्षबीच विचार–विमर्श भएको जनाइएको छ ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नुभएको थियो भने पोर्चुगलको तर्फबाट परराष्ट्र तथा सहकार्य मामिला सचिव डा. आना इसाबेल जेभियरले नेतृत्व गर्नुभएको थियो ।
नेपाली टोलीमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव तथा युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल, उपसचिव उत्तम घिमिरे तथा दूतावासका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो ।
बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै थप सहकार्य, साझा हित र सहयोग अभिवृद्धिका विषयमा गहन छलफल भएको राजदूत पौडेलले जानकारी दिनुभयो । साथै पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूले भोगिरहेका कागजात प्रमाणीकरणसम्बन्धी समस्याको समाधानका लागि पोर्चुगिज पक्षसँग सहजीकरणको आग्रह गरिएको उहाँले बताउनुभयो ।
उक्त अवसरमा परराष्ट्र सचिव राईले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायप्रतिको सद्भावका लागि पोर्चुगल सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । सचिव डा. जेभियरले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।- रासस