चितवन । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज समेटिएको निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका क्रममा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएको तथ्य सार्वजनिक भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गणनामा प्रयोग गरिएका ८५ क्यामेरामध्ये ६० वटा हराएका छन् भने २५ वटा बिग्रिएको अवस्थामा भेटिएका छन् । चितवन र पर्सा निकुञ्ज क्षेत्रमा बाघ गणनाका लागि कुल १,७८० वटा क्यामेरा जडान गरिएको थियो ।
गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको छ । गणनाका लागि दुवै निकुञ्जलाई एउटै कम्प्लेक्सका रूपमा समेटी तीन ब्लकमा विभाजन गरिएको थियो । उक्त क्षेत्रमा ९५८ वटा ग्रिड बनाएर गणना गरिएको थियो, जहाँ क्यामेरा जडान गरिएको थियो ।
प्रत्येक ब्लकमा १७ रातसम्म क्यामेरा राखेर तथ्य संकलन गरिएको तथा दुई वर्ग किलोमिटर क्षेत्रफललाई एउटा ग्रिड मानेर गणना गरिएको जानकारी निकुञ्ज प्रशासनले दिएको छ ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनाअनुसार नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो । त्यसबेला चितवनमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, बाँके राष्ट्रिय निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा बाघ अभिलेख गरिएको थियो ।