मोरङ कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु

0 Shares

विराटनगर । मोरङ जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ। विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा रहेका ३७ वर्षीय सनम तामाङको बुधबार राति निधन भएको कारागार प्रशासनले जनाएको छ।

उर्लाबारी नगरपालिका–३ घर भएका तामाङलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा बुधबार राति १०ः४६ बजे उनको मृत्यु भएको कारागार प्रशासक गौरव ढुंगेलले जानकारी दिए।

कारागार प्रशासनका अनुसार तामाङलाई पहिले देखिनै स्वास्थ्य समस्या रहेको थियो र उनले नियमित औषधि सेवन गर्दै आएका थिए। स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको बेला निधन भएको हो।

लागुऔषध मुद्दामा दोषी ठहर भएका तामाङलाई जिल्ला अदालत मोरङले २ वर्ष ६ महिनाको कैद सजाय सुनाएको थियो। अदालतको आदेशपछि २०८१ असोज १६ गते कारागार चलान भएका उनी २०८३ माघ २७ गते रिहा हुने समय निर्धारण गरिएको थियो।

घटनाबारे जानकारी पाउनासाथ परिवारका सदस्यलाई खबर गरिएको कारागार प्रशासनले जनाएको छ।

जिल्ला कारागार मोरङमा हाल १ हजार १ सय ७५ कैदीबन्दी रहेका छन्, जसमध्ये १ सय २ जना महिला रहेका छन्।

सम्बन्धित समाचारसबै