सीमा बन्दबीच पनि मिथिला परिक्रमा यात्रीलाई फर्कन छुट

0 Shares

महोत्तरी । प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थाका कारण नेपाल–भारत सीमा केही दिनका लागि बन्द गरिने भए पनि मिथिला माध्यमिकी परिक्रमामा सहभागी भारतीय श्रद्धालुहरूलाई स्वदेश फर्कन विशेष सहजीकरण गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार फागुन १८ गते मध्यरातदेखि फागुन २१ गतेसम्म सीमा नाका आवागमनका लागि बन्द रहनेछ। तर परिक्रमामा सहभागी भारतीय यात्रीको सहज फिर्ताका लागि फागुन १९ गते मध्याह्नदेखि फागुन २० गते मध्याह्नसम्म निश्चित समयावधि तोकेको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो अवधिमा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले यात्रुहरूलाई भारततर्फ फर्कन सहजीकरण गर्नेछन्। सीमा बन्दको समयमा नेपाल प्रवेश भने अनुमति नहुने स्पष्ट पारेको छ।

भारतीय यात्रीहरू प्रायः धनुषाको जयनगर र जटही तथा महोत्तरीको मटिहानी र भिठ्ठामोर नाकामार्फत आवतजावत गर्ने भएकाले ती नाकामा विशेष व्यवस्था मिलाइएको जनाएको छ। यसका लागि महोत्तरी र धनुषा जिल्लाका प्रशासनबीच समन्वय गरेको छ।

१५ दिने मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत श्रद्धालुहरू सोमबार जनकपुर पुगेर अन्तिम रात्रिबास बस्ने कार्यक्रम छ। मंगलबार बिहान जनकपुरधाममा अन्तरगृह (पञ्चकोसी) परिक्रमा सम्पन्न भएपछि यात्रा विधिवत् समापन हुनेछ। त्यसपछि भारतीय श्रद्धालुहरूलाई निर्धारित समयभित्र स्वदेश फर्कन सहज वातावरण बनाइने प्रशासनले जनाएको छ।

परिक्रमामा ठूलो संख्यामा भारतीय साधुसन्त तथा सर्वसाधारणको सहभागिता रहेको छ।

सम्बन्धित समाचारसबै