काठमाडौं । सन् २०२६ फेब्रुअरी २८ को बिहान अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेका छन्। इजरायलले यस अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ भने अमेरिकाले ‘अपरेसन एपिक फ्युरी’ भनेको छ।
आक्रमण राजधानी तेहरानसहित विभिन्न सैन्य र आणविक केन्द्रलाई लक्षित गरेर गरिएको बताइएको छ। सरकारी भवन, रक्षा संरचना र केही आणविक केन्द्र आसपास विस्फोट भएको खबर आएको छ। आणविक चुहावटबारे भने औपचारिक पुष्टि भएको छैन।
इजरायल र इरान सधैं शत्रु थिएनन्। सन् १९४८ मा इजरायल स्थापना हुँदा इरानले त्यसलाई मान्यता दिएको थियो। त्यसपछि सन् १९७९ सम्म दुवै देशबीच आर्थिक र सैन्य सहकार्य थियो।
तर सन् १९७९ मा इस्लामिक क्रान्ति भएपछि स्थिति बदलियो। क्रान्तिपछि इरानमा धर्म आधारित शासन सुरु भयो र इजरायल तथा अमेरिकासँगको सम्बन्ध टुट्यो। त्यसपछि दुवै देशबीच प्रत्यक्ष नभए पनि ‘छायाँ युद्ध’ सुरु भयो।
इरानले लेबनानको हिजबुल्लाह, गाजाको हमास र यमनका हुथी समूहलाई सहयोग गर्दै आएको छ। इजरायलले भने इरानका सैन्य र आणविक कार्यक्रमलाई रोक्न विभिन्न गुप्त कारबाही गर्दै आएको आरोप लाग्दै आएको छ।
सन् २०२४ र २०२५ मा दुवै पक्षबीच सीधा आक्रमण र हवाई युद्ध पनि भयो। त्यसपछि इरानको आणविक कार्यक्रमबारे अन्तर्राष्ट्रिय चिन्ता बढेको थियो।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानले उच्च स्तरको युरेनियम संवर्धन गरेको रिपोर्ट सार्वजनिक गरेपछि तनाव झनै बढेको थियो। कूटनीतिक वार्ता असफल भएपछि अमेरिका र इजरायलले संयुक्त कारबाही थालेका हुन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानको सैन्य र आणविक क्षमता कमजोर पार्ने उद्देश्यले आक्रमण गरिएको बताएका छन्।
इरानले पनि जवाफी आक्रमण सुरु गरेको जनाएको छ। इरानी रिभोलुसनरी गार्डले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूतर्फ क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। इजरायलका केही सहरमा साइरन बजाइएको र केही व्यक्ति घाइते भएको खबर छ।
इरान विश्वका ठूला तेल र ग्यास उत्पादक देशमध्ये एक हो। ‘स्ट्रेट अफ हर्मुज’ नामक समुद्री मार्गबाट विश्वको ठूलो हिस्सा तेल आपूर्ति हुन्छ। यदि यो मार्ग अवरुद्ध भयो भने विश्व बजारमा तेलको मूल्य आकासिन सक्छ।
मध्यपूर्वका धेरै देशको हवाई क्षेत्र बन्द गरिएको छ। दुबई र अबुधाबीका विमानस्थलमा उडानहरू प्रभावित भएका छन्।
यसबीच इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मारिएको भन्ने अपुष्ट रिपोर्टहरू पनि आएका छन्, तर आधिकारिक पुष्टि भने भएको छैन।
यदि दुवै पक्षले संयम नअपनाए यो संघर्ष ठूलो क्षेत्रीय युद्धमा बदलिन सक्छ। विश्व समुदायले अहिले घटनाक्रम नजिकबाट हेरिरहेको छ। -न्यूज एजेन्सीहरुबाट