होली, रमजान र निर्वाचन एकै समयमा : मोरङ प्रशासनले घरभित्रै होली पर्व मनाउन आग्रह

0 Shares

विराटनगर । रंग र उत्सवको पर्व होली र इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व यस वर्ष मोरङसहित देशभर निर्वाचनको संवेदनशील समयमा परेकाले प्रशासनले पर्व घरभित्रै मनाउन अपिल गरेको छ। हिन्दु धर्मावलम्बीको होली पहाडी क्षेत्रमा फागुन १८ र तराईमा फागुन १९ गते परेको छ भने रमजान १९, २० र २१  गते पर्ने छ।

निर्वाचनको मौन अवधि फागुन १७ गते राति १२ बजेदेखि लागू हुने भएकाले मोरङ प्रशासनले सार्वजनिक स्थलमा होली नमनाउन, सामूहिक भोज, सांस्कृतिक कार्यक्रम र निर्वाचन आचारसंहिता विपरीत गतिविधि नगर्न सचेत गराएको छ।

प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार चुनाव नजिकिएसँगै मदिराजन्य पदार्थको बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको छ। गृह मन्त्रालयको निर्णयअनुसार फागुन १४ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक छ। सूचनाविपरीत गतिविधि भए प्रचलित कानूनअनुसार कारबाही हुने चेतावनी समेत जारी गरिएको छ।

कोशी प्रदेश प्रहरीका एसएसपी योगेन्द्रसिंह थापाका अनुसार विराटनगर र आसपासका सहरमा होलीका लागि बनेका टी–सर्ट र सामग्रीमा राजनीतिक सन्देश वा उम्मेदवारको तस्बिर अंकित भेटिएपछि नियन्त्रणमा लिइएको छ। व्यापारीहरूले बिक्री गर्दा मतदानमा असर पर्ने सम्भावना भएकाले प्रहरीले सचेत गराएको छ।

राजनीतिक प्रतीक मिसिएमा सामूहिक उत्सवमा दलगत प्रतिस्पर्धा वा झडपको जोखिम बढ्न सक्छ। यही कारण मोरङ प्रशासन, प्रहरी र सुरक्षा संयन्त्रले पर्व र निर्वाचन सन्तुलन कायम गर्न निगरानी बढाएको छ।

पूर्वडीएसपी रामजी कटवालका अनुसार, घरभित्रै पर्व मनाइएमा उल्लास कायम रहँदै चुनावी वातावरण शान्तिपूर्ण रहन्छ। तर सार्वजनिक रूपमा राजनीतिक रंग मिसाइयो भने निर्वाचन प्रभावित हुने जोखिम बढ्छ।

यस वर्ष होली र रमजानले सांस्कृतिक उत्सव मात्र नभई राजनीतिक तथा लोकतान्त्रिक अनुशासनको परीक्षा पनि बनेको छ। प्रशासनको अपिल, प्रहरीको निगरानी र नागरिकको जिम्मेवारीबीच सन्तुलन भएमा पर्वहरूले लोकतन्त्र र सांस्कृतिक सौन्दर्य दुवै कायम राख्न सक्ने पूर्वडीएसपी कटवालले बताएका छन्।

सम्बन्धित समाचारसबै