स्रोत नखुलेको साढे ४ लाखभन्दा बढी नगद बरामद, चालकसहित गाडी नियन्त्रणमा

0 Shares

विराटनगर । मोरङको कटहरी क्षेत्रबाट स्रोत नखुलेको नगद रकमसहित एक गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हुलाकी सडक खण्डअन्तर्गत कटहरी गाउँपालिका–३ बाट ४ लाख ६२ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले प्रदेश १–०२–००२ च ६६१० नम्बरको टाटा योद्धा पिकअप गाडीलाई शंका लागेपछि रोक्काएर खानतलासी गरेको थियो।

विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको उक्त गाडीलाई मंगलबार राति करिब १ः३५ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तलासीका क्रममा स्रोत खुल्न नसकेको नेपाली नगद फेला परेपछि रकम बरामद गरी गाडीसहित चालकलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा पर्नेमा जहदा गाउँपालिका–२ निवासी अन्दाजी २४ वर्षीय विशाल टुडू रहेका छन्। बरामद नगद, गाडी र चालकलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

प्रहरीका अनुसार उक्त रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारसबै