महिलाविरुद्ध हिंसा र विभेद अन्त्यर्न सबैलाई राष्ट्रपतिको आह्वान

0 Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौ गडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय योगदान दिन सबैलाई आह्वान गरेका छन्।

एक सय १६औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले परम्पराका नाममा समाजमा कायम रहेका खराब अभ्यास र प्रथाका कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने गरेको उल्लेख गरेका छन्। यस्ता कुप्रथा निर्मूल गर्न थप प्रभावकारी र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्।

राष्ट्रपति पौडेलले जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलाहरू सशक्त भएमा सिङ्गो परिवार, समाज र समग्र राष्ट्र नै समृद्धिको मार्गमा अघि बढ्ने बताएका छन्। त्यसैले महिला सशक्तीकरणतर्फ विशेष ध्यान दिनुपर्ने उनले जोड दिएका छन्।

सन्देशमा नेपालको संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्तले राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ। साथै लैङ्गिक समानता र महिला सशक्तीकरणको लक्ष्य प्राप्त गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण तथा निर्णय प्रक्रियामा महिलाको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्।

राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन्, ‘यस दिवसले हामी सबैलाई महिलाहरूको हक, अधिकार, समानता, सशक्तीकरण तथा सम्मानप्रति पूर्ण संवेदनशील भई कार्य गर्न थप ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।’

महिला अधिकार तथा लैङ्गिक समानता प्रवर्द्धनका लागि हरेक वर्ष मार्च ८ मा अन्तरराष्ट्रिय महिला दिवस मनाइन्छ। यस वर्ष संयुक्त राष्ट्रसङ्घले तय गरेको ‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ भन्ने आदर्श वाक्यका साथ विश्वभर यो दिवस मनाइँदै छ।

विश्वभर विभिन्न क्षेत्रमा सक्रिय महिलाहरूको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिको स्मरण गर्दै महिलाको प्रविधिमा पहुँच विस्तार गर्ने, महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता तथा हिंसा अन्त्य गर्ने, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने तथा उचित सम्मान सुनिश्चित गर्ने उद्देश्यसहित अन्तरराष्ट्रिय महिला दिवस मनाउने गरिन्छ।

सम्बन्धित समाचारसबै