जाँचबुझ आयोगले बुझायो जेनजी आन्दोलनको निष्कर्ष रिपोर्ट

0 Shares

काठमाडौँ। गत भदौमा नेपालमा भएका जेनजी आन्दोलनका घटनाहरू र त्यसमा सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगका पदाधिकारीहरूले आज प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदन बुझ्दा प्रधानमन्त्री कार्कीले त्यसलाई अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने बताएकी छिन्, जानकारी उनका प्रेस सल्लाहकार राम रावलले दिएका छन्।

गत भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिन गर्न बनाइएको आयोगले यसअघि निर्धारित म्याद सकिनुभन्दा एक दिन अघि नै प्रतिवेदन बुझाएको हो।

जेनजी आन्दोलनपछि कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार बनेसँगै असोज ५ मा सो आन्दोलनबारे सत्यतथ्य पत्ता लगाउन तीनसदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य रहेका छन्।

सम्बन्धित समाचारसबै