काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ १६१ स्थानको नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यधिक सिट जित्दै सबैभन्दा ठूलो दल बनेको छ।
आयोगका अनुसार रास्वपा १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ। साथै जारी मतगणनामा रास्वपा थप एक स्थानमा अग्रता लिइरहेको छ। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरुङ अग्रस्थानमा रहेका छन्।
यसैगरी नेपाली कांग्रेस १७ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने एक स्थानमा अग्रता कायम गरेको छ। इलाम–१ मा कांग्रेस उम्मेदवार अगाडि रहेका छन्।
त्यस्तै नेकपा (एमाले) ले आठ स्थानमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता लिएको छ। संखुवासभा निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार अग्रस्थानमा छन्।
अन्य दलतर्फ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सात स्थानमा विजय हासिल गरेको छ। श्रम संस्कृति पार्टीले तीन स्थानमा जित निकालेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक स्थानमा विजयी भएको छ। एक स्वतन्त्र उम्मेदवारले पनि जित हासिल गरेका छन्।
बाँकी रहेका निर्वाचन क्षेत्रको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।