प्रतिनिधिसभा निर्वाचनमा नेकपाको कमजोर प्रदर्शन, प्रत्यक्षतर्फ ७ सिटमा सीमित

0 Shares

काठमाडौँ । २२ भन्दा बढी दल र समूहको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ अपेक्षाअनुसार सफलता हासिल गर्न सकेको छैन। हालसम्म सार्वजनिक नतिजाअनुसार नेकपा केवल ७ सिटमा सीमित भएको छ।

देशभर अधिकांश स्थानको मतगणना सकिँदै गर्दा अब तीन निर्वाचन क्षेत्रमा मात्र मतगणना जारी रहेको छ। तर तीमध्ये कुनै पनि क्षेत्रमा नेकपा उम्मेदवार अग्रस्थानमा छैनन्।

मधेश प्रदेशको धनुषा–१ मा भने मतगणना स्थगित भएको छ। उक्त क्षेत्रमा सुरुवाती चरणमा नेकपाका उम्मेदवार मात्रिका यादव ले अग्रता लिएका थिए। तर पछिल्लो मतगणनामा उनी पछि परेपछि विवाद उत्पन्न भई गणना रोकिएको बताइएको छ।

नेकपाले लुम्बिनी र कर्णाली प्रदेशबाट केही सिट जितेको छ। लुम्बिनी प्रदेशअन्तर्गत रुकुमपूर्वबाट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् भने रोल्पाबाट वर्षमान पुन निर्वाचित भएका छन्।

कर्णाली प्रदेशमा भने नेकपाले चार सिट जितेको छ। रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानबाट रमेश मल्ल, डोल्पाबाट धनबहादुर बुढा र कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी भएका छन्।

त्यस्तै बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल निर्वाचित भएका छन्।

कुल ७ सिट जित्दा नेकपा चार प्रदेशमा भने शून्य बनेको छ। कोशी, मधेश, सुदूरपश्चिम र गण्डकी प्रदेशमा नेकपाले एक सिट पनि जित्न सकेको छैन।

समानुपातिकतर्फ पनि नेकपाको मत अपेक्षाभन्दा कम देखिएको छ। हालसम्मको मतगणनाअनुसार नेकपाले करिब ५ लाख ६० हजार मत प्राप्त गरेको छ, जुन करिब साढे ६ प्रतिशत हाराहारी हुने अनुमान गरिएको छ।

यसअघि सम्पन्न निर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मात्र समानुपातिकतर्फ ११ लाख ७५ हजार ६८४ मत प्राप्त गरेको थियो। यसपटकको परिणामले नेकपाको समर्थन आधार घटेको संकेत देखाएको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचारसबै