समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले ३ प्रतिशत मत कटायो, राष्ट्रिय दल बन्ने निश्चित

0 Shares

काठमाडौं । श्रम संस्कृति पार्टी ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै राष्ट्रिय दल बन्ने आधार तयार गरेको छ।

हालसम्म ८६ लाख ५३ हजार ३१८ मत गणना सम्पन्न हुँदा श्रम संस्कृति पार्टीले तीन लाख चार हजार ५७९ मत प्राप्त गरेको छ। यो कुल मतको तीन प्रतिशतभन्दा बढी हो। नेपालको निर्वाचन प्रणालीअनुसार समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्ने दलले राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ।

पछिल्लो समय मतगणनाको परिणाम आउँदै जाँदा श्रम संस्कृति पार्टीको मत प्रतिशत क्रमशः बढ्दै गएको देखिएको छ। यसले उक्त दल राष्ट्रिय दल बन्ने लगभग निश्चित भएको विश्लेषण गरिएको छ।

प्रत्यक्षतर्फ पनि श्रम संस्कृति पार्टीले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। दलले तीन निर्वाचन क्षेत्रमा जित हात पारेको छ। हालसम्मको मत प्रतिशतका आधारमा समानुपातिक प्रणालीबाट पार्टीले करिब चार सिट प्राप्त गर्ने अनुमान गरिएको छ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनपछि संसदमा कुल छ वटा दल राष्ट्रिय पार्टीको रूपमा स्थापित हुने देखिएको छ। ती दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।

नयाँ दलका रूपमा उदाएको श्रम संस्कृति पार्टीले समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीमा उल्लेखनीय उपस्थिति जनाउँदै आगामी संसदमा प्रभावशाली भूमिका खेल्ने संकेत देखिएको छ।

सम्बन्धित समाचारसबै